बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

141
ad

१६ असार, काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १-० ले पराजित गरेको हो ।

कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो ।

१४ वर्षपछि सेमिफाइनल खेलेको बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना भने पूरा हुन सकेन । बलियो कुवेतलाई १०५ मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि एकै गल्तीमा गोल खाँदा बंगलादेश पराजित भयो ।

कुवेतले अब फाइनलमा शनिबारै हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here