अभ्यास खेलमा ओमानविरुद्ध नेपालको राम्रो सुरुवात

199
ad

काठमाडौँ – विश्वकप छनोटअघिको अन्तिम ‘वार्मअप” खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।

पहिले ब्याटिङ गर्दै ओमानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले ६.४ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ५० रन पूरा गरेको छ। नेपालका लागि कुशल भुर्तेलले २९ रन बनाउँदा आशिफ शेखले २२ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ६७ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए।

नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरे पनि पछिल्लो क्रम सम्हालिएर खेल्दा समानजनक स्कोर बनाउन ओमान सफल भयो। ओमानले ६.२ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो। पाँचौं विकेटका लागि कप्तान मकसुद र सोयब खानले १ सय १४ बलमा ९४ रनको साझेदारी गरेका थिए। खानले ६८ बलमा ३८ रन बनाए।

सातौं विकेटका लागि मकशुदले आयान खानसँग १ सय १५ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्‍याएका थिए। खानले ४६ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, आठौं विकेटका लागि खान र नसिम खुसीले २८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, प्रतिश जिसीले समान १–१ विकेट आफ्नो नाममा पारे।

यसअघि नेपाल वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो। पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here