काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।
प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् ।
नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।
‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।
मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।