वागनर समूहका प्रमुखले भने- मस्को मार्च पुटिनप्रति लक्षित थिएन

217
ad

काठमाडौं, १२ असार । रुसको निजी सैन्य समूह वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले मस्कोतर्फको मार्च राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित नभएको बताएका छन् ।

विद्रोहको धम्की दिएको २४ घण्टामै पछि हटेका उनले ११ मिनेट लामो अडियो सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

अडियोमा वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले भनेका छन्, ‘हामी विरोध जनाउनका लागि मार्च गरिरहेका थियौं । सरकार ढाल्न होइन ।’

युक्रेन विरुद्धको लडाइँमा खटिएको वागनर समूहले रुसी सेनाले पर्याप्त हतियार नदिएको र रुसी सेनाले आफ्नै भूमिमा आक्रमण गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएर मार्च सुरु गरेपछि रुसमा हलचल मच्चिएको थियो । तर २४ घण्टामै वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले पछि हटेको घोषणा गरेका थिए ।

त्यसपछि रुसी सरकारी सञ्चार माध्यमहरुले प्रिगोजिन पछि हटेको र अब बेलारुस जाने बताएका थिए ।

वागनर समूहको विरोध अन्त्य भएपछि पहिलोपटक प्रिगोजिनको अडियो सन्देश सार्वजनिक भएको हो । तर उनी अहिले कहाँ छन् र कहाँबाट अडियो सन्देश सार्वजनिक गरे भन्ने नखुलेको बीबीसीले जनाएको छ ।

उनले अडियोमा भनेका छन्, ‘वागनर समूहलाई बर्बाद हुनबाट जोगाउने र लडाइँमा भएका गल्तीमा जिम्मेवार बनाउने मार्चको उद्देश्य थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here