गगन थापाले लामो समय नेतृत्व नबदलिँदा कांग्रेस, एमाले माओवादीजस्ता पुराना पार्टी संकटमा परेको बताए

115
ad

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामो समय नेतृत्व नबदलिँदा कांग्रेस, एमाले माओवादीजस्ता पुराना पार्टी संकटमा परेको बताएका छन् ।

कांग्रेसको दोलखा–काठमाडौं संम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पार्टीहरु जमेको पोखरीजस्तो भएको टिप्पणी गरे ।

‘नेपालमा आज किन पुरानो पार्टी संकटमा छन् थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारणमध्येको मूल कारण भनेको ती पार्टीका नेताहरु, खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो’ उनले भने ।

२५/३० वर्षसम्म नेतृत्व नबदलिएका कारण पार्टीहरु संकटमा परेको भन्दै उनले राजनीतिमा पनि अवकाशको व्यवस्था हुनुपर्ने धारणा राखे । ‘हामी कहाँ एक्जिटको व्यवस्था गरिएन । …म उमेरको पनि कुरा गर्दिन, कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि छ नि त । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ’ थापाले भने ।

संसारमा कुनै देशमा एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री नहुने बताएका थापाले जिकिर गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन ।’

नेपालमा पनि यस्तो व्यवस्था हटाएर कुनै पद्धति बसाल्नुपर्ने थापाको भनाइ छ । ‘नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी कांग्रेस होइन ? अनि काँग्रेसले थिति बसाउनु परेन ?’ उनले प्रश्न गरे ।

यस्ता कुरा गर्दा व्यक्तिगत कुरा गरेको भन्ने गरिएको भन्दै थापाले परम्परा बसाले आफ्नो हकमा पनि लागू हुने बताए । ‘मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ?’ उनले भने, ‘यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौ न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ?’

कांग्रेसले केही भएन भनेर आत्मनिन्दा गर्ने वा सबै ठीकै छ भनेर अहंकार पालेर बस्न नहुने भन्दै थापाले आफ्नो बारेमा आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नैपर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ ।’

आफू बदलिन तयार रहेको भन्दै थापाले भने, ‘मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here