कसरी सुरु भयो ‘होली’ पर्व ?

250
ad

 

 

वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाक दिन होली मनाइन्छ । ‘विष्णुपुराण’ मा उल्लेख गरिए अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुकी बहिनी ‘होलिका’ का नाममा यो पर्वको नामकरण भएको हो । ‘होलिका’ को दहन भएको खुशीमा प्रत्येक वर्ष यो पर्व मनाइने गरिएकाे छ ।

हिरण्यकश्यपुले आफ्नो राज्यमा ‘भगवान् विष्णु’ को पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान् घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नू’ भनेर कडा निर्देशन जारी गरेको थियो । तर, उनका आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै ‘भगवान् विष्णु’ को पूजा गरिरहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि हिरण्यकश्यपुले बहिनी ‘होलिका’ को माध्यमबाट उनलाई जलाएर मार्ने प्रयास गरे ।

‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ पाएकी ‘होलिका’ ले प्रह्लादलाई काखमा राखेर चारैतिर पराललगायतका जल्ने वस्तुको घेरा बनाउन लगाइन् । त्यसमा आगो लगाउन भनियो । तर, आगोमा उल्टै ‘होलिका’ नै जलेर भष्म भइन्, प्रह्लाद भने जीवितै रहे । असत्यको बाटो अपनाएका कारण ‘होलिका’ ले पाएको भनिएको ‘बरदान’ काम लागेन भन्ने जनविश्वास छ । त्यस घटनापछि, सोही तिथिमा ‘होली’ पर्व मनाउन थालिएको धार्मिक मान्यता रहिआएको छ ।

के हो सन्देश ? कसरी गर्ने आत्मसात् ?

‘असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश’ पस्कने पर्व होली मनाउन नेपालीहरु उत्साहका साथ जुटेका छन् । आपसी वैमनस्यतालाई बिर्सेर एक–अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख–शान्तिको कामना गर्नु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।

यस उद्देश्यलाई आम नेपालीले पर्वमै मात्र सीमित नराखी आफ्नो जीवनशैलीमा उतार्न सक्दा मात्र नेपालले देखेको सुन्दरता र शान्तिको सपना पूरा हुनुका साथै पर्वको सार्थकता समेत प्रमाणित हुन सक्छ । तर, पर्वको आपसी सद्भावको सन्देशलाई नेपालीले आफ्नो जीवनको मूल मन्त्रका रुपमा कहिले ग्रहण गर्नेछन् भन्ने विषय अनुत्तरित नै छ ।

यस पर्वमा ‘होलिका’ को दहन हुन्छ । होलिका को थिइन् ? यसको दहन किन गरिन्छ ? प्रत्येक वर्ष होलिकाको प्रतिमूर्ति दहनको माध्यमबाट पर्वले समाजलाई के सन्देश दिन खोजेको हो ? यस विषयमा गहिरिएर विचार नगरी मीठो खाने, रङ्ग खेल्ने र गीत गाएर मनोरञ्जन मात्रमै सीमित रहिरहियो भने यस पर्वको मूल उद्देश्यमाथि नै चोट पर्छ ।

‘दैत्यराज’ हिरण्यकश्यपुकी बहिनी ‘होलिका’ लाई ‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ प्राप्त भएको किंबदन्ती छ । ‘बरदान’ को सदुपयोग गर्नुको सट्टा कसैलाई जिउँदै जलाएर मार्नका लागि उनले ‘बरदान’ को दुरुपयोग गरेकी थिइन् । शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पुर्‍याउने जस्ता गलत क्रियाकलापलाई अन्त्य गर अर्थात् आफूभित्रै रहेको ‘होलिका’ मानसिकतालाई जलाएर अन्त्य गर अनि अबदेखि असल मानव बन भन्ने उद्देश्य राखेर नै प्रत्येक वर्ष फागुन पूर्णिमाका दिन ‘होलिका दहन’ गर्ने गरिएको हो ।

हामी समस्त नेपालीले एक–अर्काको मान–सम्मान गर्ने, एकापसमा आदर गर्ने र मुलुकमा सुख–शान्ति र समृद्धिका लागि दृढसङ्कल्पित हुने बचनवद्धता प्रकट गर्न सक्यौं भने होलीलगायत विभिन्न धर्म र समुदायले समाजको हितका लागि मनाउने गरेका पर्वको उद्देश्य सफलीभूत हुनुका साथै असल र सभ्य समाजको निर्माण हुनेछ । परापूर्वकालदेखि पर्वको माध्यमबाट प्राप्त शान्तिको सन्देशलाई सकारात्मक सोचाइका साथ राष्ट्र निर्माणमा लगाउन सकियो भने मात्रै पर्वको वास्तविक पहिचान स्थापित हुन्छ ।

कहाँ, कसरी मनाइन्छ ?

नेपालमा होली पर्व विधिवत् रुपमा दुई दिन मनाउने गरिन्छ । फागुपूर्णिमाका दिन पहाडमा होली खेलेर बेलुकी ‘होलिका दहन’ गरी पर्वको समापन गरिन्छ भने तराईमा फागुन पूर्णिमाका दिन बेलुकी ‘होलीका दहन’ पछि भोलिपल्ट बिहान रङ्ग–अबिर खेलेर होली पर्व मनाइन्छ । आ–आफ्नो रीतिरिवाज अनुसार पर्व मनाइने भए पनि पर्वको मुख्य उद्देश्य समान छ ।

पर्यटकीय नगरी पोखरामा पनि धुमधामका साथ उत्साहमय वातावरणमा होली पर्व मनाउने गरिएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइडमा विदेशी पर्यटक पनि यो पर्व मनाउन उत्साहका साथ सरिक हुने गरेका छन् । यसपालि पनि होली पर्व धुमधामका साथ मनाउन पोखरामा साङ्गीतिक कार्यक्रम व्यापक तयारी गरिएको छ ।

यस पर्वमा मीठो परिकार बनाउने र खाने गरिन्छ । होलीमा खासगरी ‘मालपुवा’ अनिवार्य रुपमा पकाइन्छ । पकाइएका परिकार सबैभन्दा पहिले घरका ‘देवी–देउता’ लाई चढाइन्छ, त्यसपछि मात्र खाने गरिन्छ । अचेल मासु पनि खाने गरिएको छ । कतिपयले भाङ–गाँजा र रक्सीजस्ता नशालू पदार्थ समेत खाएर होली मनाउने गर्दछन् ।बिबिन्न अनलाईन बाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here