संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताउँछन्।
उनले भने, “हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।”
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ।
संस्कृतिविद् ग्वंगःका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ।
उनी भन्छन्, “भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन्।”
गाईजात्राको इतिहास कस्तो छ?
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए।
उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो।
उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ। मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ।