शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् ।
सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।
व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढोँगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ। मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भने पछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ।
हाम्रो धार्मिक सामाजिक परम्परामा श्रावण महिनालाई कृषिको नयाँ जीवनचक्रको थालनी मानिन्छ। हुन त पक्षका हिसावले असार महिनामै यसको प्रारम्भ हुन्छ तर असार महिनामा रोपाइँको चटारोका कारण धार्मिक एवं सामाजिक क्रियाकलाप अनुकूल भैसकेको हुँदैन। साउन महिनामा रोपाइँ लगभग सकिन्छ र धर्मकर्मतर्फ बढी ध्यान गएको पाइन्छ। हाम्रा चाडबाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा साउन महिनामा प्रकृतिसँग गाँसिएका विभिन्न परम्परा निर्वाह गर्ने चलन कृषियुगदेखि नै चलेको पाइन्छ।