आँखा पाक्ने संक्रमण : उपत्यकाबाहिर घट्दै, काठमाडौंमा बढ्दै

149
ad

सोमबार, साउन २९, २०८० काठमाडौं । एक महिनायता देशभर फैलिएको आँखा पाक्ने समस्या ‘भाइरल कन्जन्टिभाइटिस’ उपत्यकाबिहर घट्दै गएको छ । काठमाडौंमा भने संक्रमण झन तीव्ररूपमा फैलिँदै गएको विभिन्न अस्पतालको तथ्यांकले देखाउँछ । तिलगंगा आँखा प्रतिष्ठानमा गत जुलाई १ देखि १० अगस्टसम्म एक हजार ३९७ जनामा यो समस्या पहिचान भएको छ । संक्रमित हुनेमा युवा बढी छन् । प्रतिष्ठानको तथ्यांकअनुसार १८ देखि ५९ वर्षका ८३५ जनामा भाइरल कन्जन्टिभाइटीस देखिएको छ ।

यस अवधिमा ३५४ जना बालबालिका संक्रमित भएर अस्पताल आइपुगेको प्रतिष्ठानको तथ्यांक छ । कन्जन्टभिाइटीस्का बिरामी बढ्दै गएपछि अस्पतालले छुट्टै ‘रेड आई क्लिनिक’ सञ्चालन गरिरहेको छ । कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा पनि कन्जन्टिभाइटिस संक्रमित बढिरहेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्यका अनुसार दैनिक करिब ६० जना बिरामी आँखा पाक्ने बिरामी आइपुग्ने गरेका छन् । उपत्यकाबाहिरका अस्पतालमा भने भाइरल कन्जन्टिभाइटिस संक्रमितको संख्या घट्न थालेको छ । साउनयता बिरामीको चाप अधिक बढेको राप्ती आँखा अस्पतालमा पछिल्लो साता संक्रमितको संख्या १८ प्रतिशतले घटेको अस्पतालका निमित्त प्रशासन प्रमुख शालिकराम गौतमले बताए । “अघिल्लो साता ओपीडीमा आउनेमध्ये ८० प्रतिशत कन्जन्टिभाइटिसका बिरामी हुन्थे । पछिल्लो साता यो संख्या घटेर ६२ प्रतिशतमा झरेको छ,” उनले भने । दैनिक सरदर ४०० जना संक्रमित आउने गरेको उनको भनाइ छ । “अब केही कम भएको हो कि जस्तो दखिन्छ,” गौतमले भने ।

भाइरल कन्जन्टिभाइटिस अधिक फैलिएको कैलालीमा पनि संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । कैलालीको गेटा आँखा अस्पतालमा अहिले दैनिक ६०० जना आँखाका बिरामी आउँदा करिब ३०० जनामा यो संक्रमण देखिने गरेको अस्पतालका सूचना अधिकारी गोविन्द जोशी बताउँछन् । त्यस्तै, कास्कीको हिमालय आँखा अस्पतालमा दैनिक ५० प्रतिशत र गौर आँखा अस्पताल गौरमा ३० प्रतिशत कन्जन्टिभाइटिस संक्रमित आइरहेको अस्पतालको तथ्यांक छ ।

‘इन्टेरोभाइरस’ले बढाउँदै भाइरल कन्जन्टिभाइटिस नेपालमा हाल आँखा पाक्ने संक्रमण ‘इन्टेरोभाइरस’ नामक भाइरसका कारण फैलिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ । प्रयोगशालाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट संकलन गरेका १० वटा नमुना परीक्षण गर्दा आठवटामा सो भाइरस देखिएको हो । आँखा पाक्ने संक्रमणको मुख्य कारण पत्ता लगाउन थप नमुना संकलनको काम भइरहेको एनपीएचएले जनाएको छ । विभिन्न समयमा आँखा पाक्ने संक्रमणको ८० प्रतिशत कारण एडिनो भाइरस हुने गरेको छ । यसबाहेक इन्टेरोभाइरस र हरपिस नामक भाइरसले पनि संक्रमण फैलाउने गरेको एनपीएचएलले जनाएको छ ।

वर्षाले पनि बढाउँदै आँखाको संक्रमण वर्षायाममा फोहोर पानीका कारण पनि आँखाका विभिन्न संक्रमण बढाउने गरेको विशेषज्ञको भनाइ छ । असार साउनमा एडिनो भाइरस धेरै सक्रिय हुने भएकाले आँखा पाक्ने संक्रमण हुने गरेको छ । लगातार वर्षा हुँदा पानी प्रदूषित भएर पनि आँखाका विभिन्न संक्रमण फैलिने गरेको कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् । आँखाको सरसफाइका लागि पानी छ्याप्ने वा भित्रैसम्म पानी हालेर धुनेभन्दा कपास, रुमाल वा टिस्यू भिजाएर पुछ्नु सुरक्षित उपाय भएको उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here