विनोद चौधरीले अर्थ समितिको अध्यक्षता गर्दा उठ्यो स्वार्थ बाझिने प्रश्न

161
sf7df8f}F, @! c;f/ . l;+xb/af/df laxLaf/ a;]sf] cy{ ;ldlt a}7sdf af]Nb} ;f+;b 1fg]G›axfb'/ sfsL{ . tl:a/ M gjLg kf}8]n÷/f;;
ad

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदीय समितिको सभापतित्व गर्दा स्वार्थ बाझिने भन्दै सांसदहरुले प्रश्न उठाएका छन् ।

अर्थ समितिले बिहीबार रासायनिक मलको उपलब्धताको विषयमा कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, अर्थ मन्त्रालय र लगानी बोर्डका अधिकारीहरुसँग छलफल कार्यक्रम राखेको थियो । समितिको सभापति चयन नभएका कारण ज्येष्ठ सदस्यको रुपमा सांसद विनोद चौधरीले सभापतित्व गरे ।

अर्थ समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद सन्तोष चालिसे र उनीपछिका ज्येठ सदस्य राप्रपाका दीपक बोहरा दुबै अनुपस्थित भएपछि चौधरीले सभापतित्व गरेका थिए । उद्योगपति चौधरी अर्थ समितिको सभापतिकै कुर्सीमा देखेपछि एमाले र राप्रपाका सांसदहरुले स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका हुन् ।

‘हामीले व्यक्ति केन्द्रित गरेको होइन । यहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न पाइँदैन’, चौधरीबारे राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने । प्रतिनिधिसभा नियमावलीमै स्वार्थ बाझिने समितिमा सांसदहरु रहन नपाउने व्यवस्था रहेको भन्दै उनले समिति सदस्यहरुको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७५ (२) मा भनिएको छ, ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले पनि स्वार्थ बाझिने स्थितिमा स्वघोषणा गरेर जिम्मेवारीमा वा छलफलमा नरहनुपर्ने बताए । ‘कसैको स्वार्थ बाझिने स्थिति छ भने स्वघोषणा गर्नुपर्छ’ सांसद थापाले प्रश्न गरे, ‘माननीय विनोद चौधरीको के हो यस विषयमा ?’

तर, कस्तो अवस्थामा स्वार्थ बाझिएको मानिने भन्ने विषय नियमावलीमा प्रष्ट छैन । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नियमावलीमा प्रष्ट व्यवस्था नभएकाले अर्थ समितिमा चौधरीको उपस्थिति र सभापतित्वमा प्रन गर्न नमिल्ने तर्क गरे ।

‘विनोद चौधरी हामी जसरी निर्वाचित भएका छौं त्यस्तै गरेर निर्वाचित भएर आएको जनप्रतिनिधि हो’ कार्कीले भने, ‘उहाँले जेष्ठताको आधारमा अध्यक्षता गर्दा आपत्ति जनाउनुपर्ने कुरा मैले देख्दिन । र आपत्ति जनाउनुहुन्न ।’ चित्त बुझ्दा स्वार्थ नबाझिने र चित्त नबुझ्दा स्वार्थ बाझिने जस्तो व्यवहार गर्न नहुने उनको भनाइ छ ।

प्रश्न उठेपछि बिहान १० बजेका लागि बोलाइएको अर्थ समितिको बैठक करिब एक घण्टा ढिलो गरी विषयमा प्रवेश गरेको थियो । बैठकलाई विषयमा प्रवेश गराउने सन्दर्भमा एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की लगायतले भूमिका खेलेका थिए ।

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अर्थ समितिमा बिहीबार उठेको प्रश्नले सुधारका लागि मद्दत पु¥याउने बताए । ‘स्वार्थै स्वार्थको दुनियाँ छ । देखिँदा सामान्य जस्तो देखिन्छ, अध्यक्षता ग्रहण गर्ने विषय त हो भनेजस्तो’ उनी भन्छन्, ‘तथापि, बिहीबार उठेको जस्ता प्रश्न र बहसले स्वार्थ बाझिने विषय के हो भन्ने विषयलाई स्थापित गर्न मद्दत गर्दछ ।’

विनोद चौधरी उद्योगपति रहेका कारणले अर्थ समितिमा रहने विषय आफैँमा स्वार्थ बाझिने भएकाले अर्को समितिमा रहनु उचित हुने सांसद मेटमणिले बताए ।

कांग्रेसका सांसद विनोद चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । चौधरीको बैंक तथा वित्तीय संस्था, उद्योग, होटल, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी छ ।

अर्थ समितिकै सदस्य भगवती चौधरी फरवार्ड लघुवित्तकी लगानीकर्ता हुन् । सांसद हुनुअघि उनी अध्यक्ष थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here