राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।
.
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताउनु भयो । उहाँले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताउनु भयो । उहाँले शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको भन्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्य क्षमतामा प्रश्न उठेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरुले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागिय प्रमुखको पदको लागि । यो दलिय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो । तर यो त्यतिमा मात्रै सिमित रहदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दुईवटा ठुला दलको भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ । शिक्षकले राजनीति गर्नुपर्छ । प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुप¥यो । मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ ।’
उहाँले शिक्षालयमा राजनीति पस्न दिनु नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल