मानवीय व्यवहारमा बढदै गएको उल्टो गति

1558
ad

विनोद देवकोटा

पहिला पहिला हाम्रो समाजमा सामाजिक वा पारिवारिक भेटघाटमा एक आपसमा मानिसको सन्चो बिसन्चो, पारिवारिक खबर, शैक्षिक प्रगति , घर व्यवहार आदि यस्तैयस्तै भलाकुसारी हुने गर्दथियो । आत्मीक र प्राकृतिक विषयमा चासो हुने गर्थ्यो । यी र यसता भलाकुसारीमा मानवीयता झाल्किन्थियो । एक आपसमा ख्याल राखेको , दुख सुखमा साथ दिएको जस्तो लाग्दथियो । एक अर्कोमा समस्या पर्दा सैसापट चलाउने, मिलेर अगाडी बढ्ने जस्ता कुराहरु प्रशस्त भेटिन्थे । मानवीय व्यवहारहरु सहज र प्राकृतिक लाग्दथे । त्यैबेला मानिसको बिद्या, बौदिकता, कलाकारिता अनि सहयोगीपनको कदर गरिन्थ्यिो । नैतिक मूल्य र मान्यता कायमै थिए । तर अहिले मानवीय व्यवहारमा ठिक उल्टो गति हावी हुँदै गइरहेको छ ।

समयको गति संगै आज सिंगो विश्व नै एक गाउ जस्तै भयो । यो संगै हाम्रा सोच व्यवहार पनि परिवर्तन हुदै गए । अहिले पहिलो भेटमा नै सबैले ( बिशेष गरि गाउबाट शहर आएकाहरुलाई) सोधिने गरेको प्रश्न सुन्दा अचम्म लाग्छ । जग्गा कहाँ किनियो ? घर बनाईयो कि फ्ल्याटमा हो ? छोराछोरी कुन विध्यालयमा पढ्छन ? सरकारी हो की बोडिङ हो ? कुन बाइक वा गाडी चद्नुहुन्छ ? मेरो त यहाँ घर, जग्गा छ । आदि यस्तै यस्तै कुराहरु हुने गर्छन । यो सुन्दा लाग्छ प्रगतिको मुख्य सूचक नै यो रहेछ । यसकै आधारमा मानिससंग व्यवहार गरिदो रहेछ । यसले गर्दा सकी नसकी काठमाडौँमा घर, जग्गा जोड्नु पर्ने बाध्यता सिर्जना हुदो रहेछ । त्यसपछि सारा जिन्दगीको कमाई, बाँकी जिन्दगी त्यहि सपना पूरा गर्न तिर सबैको ध्यान पुग्दो रहेछ । कतिले त यो सपना सजिलै , कतिले जसो तसो गर्न सक्दा रहेछन त कतिले गलत बाटो अपनाउने कुरा पनि बेला मौकामा सुनिन्छ । कतिपयमा चाही सहरको महंगी संगै दैनिक गुजारा चलाउन, छोराछोरीलाई शिक्षा दिन धौ धौ परिरहेको बेला यो प्रश्नले मर्माहत बनाउदो रहेछ । कतिपयमा भौतिक रुपमा आर्जन गरेको धन सम्पतिको फुस्रो रबाफ, फुर्तिफार्ती निकै टिठ लाग्दो देखिन्छ । त्यस्तै व्यक्तिको तडक भडक सामाजिक संजालहरुमा छताछुल्ल पोखिरहेको हुन्छ । तिनका प्रस्तुति देक्दा लाग्छ जिबनको लक्ष्य नै यस्तो हुनु पर्दछ र समाजका सफल व्यक्ति नै यिनै हुन ।

देखाशिखिमा आधारित हाम्रो जस्तो समाजमा सकी नसकी तिनै चटकेको पछि लाग्ने, भजन गाउने अन्तत सके सम्म तिनकै पछि लाग्ने प्रवृत्ति देखिन्छ । कमिलालाई प्याख लागे झैँ समाजमा देखिने यस्ता गतिविधिले समग्र समाजलाई नै दिग्भ्रमित बनाएको छ । ज्ञान, सदाचार, मिहिनेत, संघर्ष जस्ता मानवीय गुणहरुले लाज मानिरहेको छ । आदर्शको बाटोमा अविचलित यात्रीहरुलाई ठेस लागेको छ । जीवनलाई सार्थक बनाउन साधारण जीवनशैली अनुसरण गर्ने महान बिचारहरु पाखण्डी बन्दैछन । यस्ता गतिविधिले हाम्रो समाज, रितिरिवाज , चालचलनलाई कता लाने हो ? के हामीले खोजेको मानब विकास, संवृद्धि यहि नै हो त ? अर्को तिर पुँजी यसरी अनुत्पादक छेत्रमा हुने बढ्दो लगानी ले गर्दा सिमित ठाउँको घर जग्गा को मुल्य आकासिने साथै सिमित व्यक्ति लाई मात्र फाईदा हुने देखिन्छ ।

बरु यो लगानी उधोगधन्दा , ब्यवसाय आदिमा भएको भए सयौंले रोजगारी पाउथे । स्वदेशी उत्पादनको वृद्धि हुन्थ्यो । यसले उद्मशिलातालाई बढवा दिने थियो । अनि लाखौं खर्चेर विदेश जाने पनि क्रम घटी स्वदेशमा नै केहि गरूँ भन्नेहरु भेटिन्थे । हुन त यो बिषय कतिपयलाई सामान्य लाग्न सक्छ । कारण धेरै जसो नीति निर्माता एवं राम्रो आम्दानी गर्नेको लगानी यहि क्षेत्र नै रोजाइमा रहेको छ । अझै यो सबालमा मलजल हुदै विभिन्न आर्थिक , सामाजिक समस्या आउने देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । हामी कस्तो सामाजिक अभ्यासलाई व्यवहार बनाउदैछौ ? हामी बनाएका व्यवहारले आफू र समाजलाई कस्तो टेवा दिइरहेको छ ? देखासिखी र भ्रमित व्यवहारहरुले हामीलाई कस्तो आचरणमा धकेलिइरहेको छ भन्ने विषयलाई गम्भीर ध्यान दिन सकिएन भने सामाजिक नैतिक तत्वहरुलाई विथोल्ने काम हामी आफैबाट भएको पूष्टि हुँदै जानेमा कुनै संका रहदैन । आर्टीफिसियल हुटहुटीले हाम्रो लक्ष्य र उद्देश्यलाई गन्तव्यमा पुर्याउदैन, ठोस आधार र वास्ताविक व्यवहार नै लक्ष्य पूरा गर्ने साधन बन्न सक्छन । अरुभन्दा माथी नै हुन चाहने अरु भन्दा अब्बल नै हुन खोज्ने मानवीय स्वभाव हो तर सन्दर्भ र सार्थकताको पहिचान मुख्य सवाल हुने कुरा विर्सन हुन्न । हामीलाई सामाजिक अभ्यासहरुलाई व्यवहार बनाउदै गर्दा वास्ताविक धरातललाई मेटने काम गर्नु हुन्न । धरातल विर्सने प्रवृत्तिले नै आज हामीले खोजेको विकास हामीले खोजेको समृद्धि टाढीदै गएको छ त्यो मानवीय होस वा सामाजिक होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here