भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउदा महँगियो बजार

93
ad

भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपालीको भान्सा महँगिएको छ। भारतको वित्त मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्यात करमा ४० प्रतिशत लगाउने घोषणा गरेको छ। भारतीय घोषणासँगै आइतबार बजारमा प्याजको भाउ किलोमै २५ रूपैयाँ बढेको छ। पुरानो खरिद भए पनि व्यापारीले भाउ बढाएका छन्।

नेपाली भान्सा भारतीय प्याजमा निर्भर रहेकाले कर लगाउने निर्णयले भाउ बढेको नेपाल आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए। ‘भारतले आफ्नो देशबाट निर्यात घटाउन ४० प्रतिशत निर्यात कर लगाएको छ । यसको प्रत्यक्ष असर नेपालको बजारमा पर्न थालेको छ।’ भारतले प्याज उत्पादनमा कमी आएपछि निर्यात घटाउन कर लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आन्तरिक बजारलाई ध्यानमा राखेर भारतले निर्यातमा उच्च कर लगाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए। ‘आफ्ना उपभोक्तालाई प्याज अपुग हुने भएपछि निर्यात रोक्न भारतले कर लगायो,’ उनले भने,यसको प्रतक्षमारमा नेपाली उभोक्ता परेका छन्।’

४० प्रतिशत निर्यात करका अतिरिक्त नेपालको भन्सारमा १.५ प्रतिशत एआइटी र ९ प्रतिशत कृषि सुधार कर लगाइन्छ। त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि जोडिन्छ। यसले प्याजमा किलोमै २४ रूपैयाँ लागत बढ्ने उनले बताए। उदाहरणका लागि १ सय भारु (१ सय ६० रूपैयाँं) पर्ने प्याजमा ४० प्रतिशत कर लगाउँदा ६४ रूपैयाँ थपिन्छ। यस आधारमा प्याजको लागत मूल्य बढेर नेपलामा २ सय २४ रूपैयाँ पुग्छ।

भारतले कर बढाएपछि उताबाट नेपालमा निर्यात पनि कम हुन्छ। कम आयात भएपछि नेपाली बजारमा प्याजको अभाव हुन गई भाउ अझै बढ्ने देखिएको छ।

देशभित्र उत्पादन निकै कम भएकाले भारतीय प्याजको भर पर्नुपर्ने अवस्था छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक पुडासैनीका अनुसार काठमाडौं उपत्यकामा प्रयोग हुने ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। ‘प्याजमा स्वदेशी उत्पादन अतिनै कम छ,’ उनले भने, ‘भारतले निर्यातमा उच्च कर लगाउँदा नेपाली उपभोक्ता मारमा परे।

मुलुकभरिका उपभोक्ताले प्रयोग गर्ने करिब ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ। आर्थिक वर्ष २०७९/०८० मा भारतबाट ६ खर्ब ७५ अर्ब रूपैयाँको करिब १८ करोड किलो प्याज आयात भएको थियो। भारत विश्वमै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो।

कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार बिहान प्रतिकिलो ६२ रूपैयाँमा बिक्री भएको प्याज दिउँसो उपत्यकाका खुद्रा बजारमा ८५ देखि ९० रूपैयाँमा बिक्री भएको छ। एकदिनमै प्याजको भाउ किलोमा २५ रूपैयाँ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सनाले बताए।

‘भारतले कर लगाउने सूचना पाउनासाथ व्यापारीले प्याजको भाउ एका एक बढाए । नयाँ कर तिरेको प्याज आउँदा उपभोक्ताले अझै महँगोमा किन्नुपर्नेछ । भारतसँग कूटनीतिक पहल गरेर प्याज निर्यातमा लगाएको कर हटाउन पहल गर्नुपर्ने तिमल्सिनाले बताएका छन्। ‘सरकारले उपभोक्तालाई राहत दिन कूटनीतिक पहल गरी अहिलेकै मूल्यमा प्याज दिने वातावरण मिलाउनुपर्छ,’ उनले भने।

नेपाल सरकारले प्याज उत्पादन योजनाबिना बजेट भाषणमा १३ प्रतिशत भ्याट लगाएको साढे दुई महिनापछि भारतले निर्यात करमा भारी वृद्धि गरेको हो।

सरकारले उत्पादन बढाउने योजनाबिनै भ्याट लगाएको भनेर आलोचना भइरहेका बेला भारतले पनि निर्यात कर बढाएको हो। भारतले निर्यात निरुत्साहित गर्न कर बढाएसँगै नेपाल उत्पादन बढाउने रणनीतिमा लाग्नुपर्ने आवाज उठेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here