२३६० मा भरेको आईपिओ खातामा आउँदा जम्मा १ हजार? जान्नुहोस कारण

186
ad

आइएमई लाइफ इन्स्योरेन्सले हालै सार्वजनिक निष्काशन गरेको शेयर बुधबार लगानीकर्ताको खातामा आयो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६.९१ रुपैयाँमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । शेयर निष्काशन गर्दा प्रिमियम थपेर थपेर निष्काशन गरेको भए पनि खातामा भने प्रति कित्ता १ सय रुपैयाको दरले १ हजार रुपैयाँ मात्र आएपछि भने सर्वसाधारण लगानीकर्ता आत्तिएका छन् ।

सामाजिक सञ्जालभरि आइएमई लाइफको शेयरमा कम्पनीले १३६० रुपैयाँ खाएको आरोप लगाइएको छ भने कसैले २३६० रुपैयाँ खर्च गर्दा पनि १ हजार मात्रै देखाएको किन होला भन्दै प्रश्न उठाएका छन् । लगानीकर्ताहरुमा के भ्रम छ भने प्रिमियममा आइपीओ भर्दा १० कित्ता पार्न २३६९ रुपैयाँ खर्च भएको हुँदा डिम्याट खातामा त्यति नै रुपैयाँ देखाउनु पर्नेमा किन १ हजार रुपैयाँ मात्रै देखायो भन्ने नै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको जिज्ञाशा रहेको छ ।

‘आइएमई लाइफ इन्स्योरेन्सको अरु पैसा खै त १ हजार रुपैयाँ मात्रै छ त ! !’–धेरै लगानीकर्ताले यस्तै सन्देश सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । नेपालमा कोभिड लकडाउनको समयमा धेरै नयाँ लगानीकर्ता पुँजी बजारसँग जोडिएका छन् । कोभिड अगाडि ५–६ लाखले भर्ने आइपीओ कोभिड संक्रमणको समयमा खुलेका आइपीओहरुमा भर्ने संख्या बढ्दै गएर २३–२४ लाखसम्म पुगेको थियो ।

नेप्से ३२ सयबाट झर्न थालेपछि भने विस्तारै आइपीओ भर्नेको संख्या पनि विस्तारै घट्दै जान थालेको छ । पछिल्लो समयको आइपीओमा १०–११ लाखको हाराहारी मात्रै आवेदन पर्ने गरेको छ । कोभिडको समय पुँजी बजारमा आबद्ध भएका लगानीकर्ताहरुले प्रिमियममा निष्काशन गरेको आइपीओ नभरेको हुँदा धेरै लगानीकर्ता डिम्याट खातामा शेयर आउँदा झुक्किएका हुन । वास्तवमा आइपीओमा परेको शेयर पहिलोपटक सूचीकृत हुँदा अंकित मूल्यको आधारमा डिम्याट खातामा देखाउने गरिन्छ ।

जतिसुकै प्रिमियम तिरेर आइपीओ भरेको भए पनि प्रति कित्ता अंकित मूल्य १ सय गुणा १० कै आधारमा डिम्याटमा देखिने हो । वास्तवमा आईएमई लाइफ इन्स्योरेन्सको शेयर डिम्याट आउँदा भएको त्यही हो । सेकेन्डरी मार्केटमा किन्दा भने जुन मूल्यमा शेयर किनेको हो, त्यही आधारमा डिम्याटमा देखिन्छ । बुधबार लगानीकर्ताको डिम्याट खातामा आइसकेपछि आईएमई लाइफ इन्स्योरेन्सको शेयर बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ र आइतबारबाट कम्पनीको शेयर कारोबार हुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई ‘आईएलआई’ कोड प्रदान गरिएको छ भने नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । गत आवमा आईएमई लाइफसँगै घोराही सिमेन्ट, सिटिजन्स लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले समेत प्रिमियममा शेयर निष्काशन गर्न अनुमति पाएक थिए ।

यी कम्पनीहरुको शेयर डिम्याट आउँदा पनि १ सय रुपैयाँकै हिसाबले खातामा आउँछ तर शेयर बिक्री गर्दा भने प्रिमियम भन्दा माथिको मूल्यमा बेच्दा मात्रै पुँजीगत लाभकर तिर्नुपर्छ भने प्रिमियम तिरेको भन्दा मुनि शेयर कारोबार हुँदा पनि लाभकर तिर्नुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here