सुन तस्करीमा महराका बाबुछोरा नै संलग्न रहेको प्रमाण भेटियो

179
ad

काठमाडौं, साउन २ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महरा सुन तस्करीमा संलग्नता रहेका तथ्य बाहिर आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा महरा र उहाँका छोरा राहुल जोडिएको पाइएको हो । ई–सिगरेट ९विद्युतीय चुरोट० भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा नै संलग्न रहेको तथ्य फेला परेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिनुभएको थियो । सिआइबीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र छोरा राहुल महरा सुन ल्याउने समूहसँग निरन्तर सम्पर्कमा रहेको पाइएको छ । नागरिक दैनिकका पत्रकार टपेन्द्र कार्कीले बाहिर ल्याउनु भएको तथ्यअनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गर्नुभएको थियो । प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल ९सिडिआर० बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो । प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उहाँहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ ।

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको अनुसन्धानले देखाएको छ । २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट ९भेप० भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो। यात्रु छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेका थिए ।

भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए । पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएको र त्यसरी नै तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ। सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा देखिएको छ। सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए। तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए ।

भन्सार विभागमा त्यो वस्तु शंकास्पद रहेपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो। सिआइबीले अनुसन्धानका लागि पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट रहेका थिए। आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ। सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दुकुमार रहेको उल्लेख गरिएको छ ।

विमानस्थलबाट सुन गायब गर्ने प्रमुख व्यक्तिमा त्रिभुवन विमानस्थल कार्यालय, गौचरको मुद्दा शाखाअन्तर्गतको गोदामको कार्य जिम्मेवारी तोकिएका नायब सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौं बस्ने ३९ वर्षका साहेब राव, सिन्धुपाल्चोक सुनकोशी–६ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बाग्लुङको काठेखोला–३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार विक, सिन्धुपाल्चोकको सुनकोशी–६ घर भई हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दीपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदी पक्राउ परेका छन्। काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here