गृहमन्त्री लाइ चलखेल नगर्न खतिवडाको चेतावनी।

108
ad

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरूद्ध लागेका मुद्दामा चलखेल नगर्न वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए।

उनले आफूविरूद्धका मुद्दाका बारेमा आफैंले सांसदहरूलाई जानकारी गराउनुपर्ने बताए। उनले दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने बताए।

उनले भने, ‘संसदमा धेरै विषयहरू प्रवेश गरेका छन्। हामी हिजो सरकारमा हुँदा सरकारमा दाग लागेका मन्त्रीहरूलाई राख्नु हुँदैन भनेर तत्कालीन प्रमुख प्रतिपक्ष दलले भनेको थियो। अहिले त्यस्तै विषयमा सम्बन्धित भएर दाग लागेका मन्त्री र उपप्रधानमन्त्रीहरू अरू मन्त्रीहरू पनि छन्। त्यसमा प्रश्न उठ्नु स्वाभाविक हो। उपप्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला। अहिले सुनको कुरा पनि आएको छ। सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरूको हातमा आउनुपर्छ। त्यसमा छलफल गर्छौं।’

उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्र मन्त्रीलाई आफूसँग अरू पनि प्रमाण भएको बताएकाले भन्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए।

‘सिआइबीले छानबिन गर्दा उम्कनु नहुने मान्छेहरू उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भुटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो। तत्कालीन आइजी र एआइजीहरू पनि छन् सुन काण्डमा भन्ने आएको छ। कोको छन्, त्यो सम्पूर्ण रिपोर्ट आए कि आएनन् त्यो हेर्नुपर्छ। गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ। हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौं,’ उनले भने, ‘उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्र मन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन् अरू पनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो। अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ। उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ। अरूको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन। उहाँका बारेमा उठेका इस्युहरूमा उहाँ आफैंले सम्बोधन गरिदिए राम्रो हुन्छ।’

उनले सुन तस्करी सम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन पनि माग गरे। —न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here