विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत

145
ad

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनु भएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’

‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’

‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकरात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’

‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ, गर्न कठिन छ । त्यसकारण सकरात्मक कुरा बिकाउन गाह्रो छ ।’

उहाँले भन्नुभयो, ‘समस्या सिस्टममा छ, नकरात्मक बहसले निरन्तर राम्रो काम गरिरहेको छ । राम्रो काम गर्न चाहनेहरु ओझेलमा पर्ने भए । राजनीति र प्रशासनमा राम्रो काम गर्नेहरु छन्, सुशासन, दीगो विकास र समृद्धिको जुन मापदण्ड बनाइएको छ, त्यसमा खरो नउत्रिने पनि छन् । अर्थात् शासनभित्र र बाहिर सबै खाले प्रवृत्ति छन् ।’

देशमा सकरात्मक बहसको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सही काम गर्नेहरुलाई चिन्न आवश्यकता छ । यो किसिमको बहस देशमा चल्यो भने जसले काम गर्दैन, त्यसलाई छुट्याउँ, जसले काम गरेको उसलाई चिनौं । यो परम्पराको थालनी हुनुपर्छ ।’

कानुनी शासन सुशासनको पहिलो आधार भएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘कानुनअनुसार हामी काम गर्छौ कि गर्दैनौं । त्यत्ति मात्र होइन, हामी कामप्रति समर्पित छौं कि छैनौं । कानुन मान्ने तर, काममा ढिलासुस्ती भयो भने नतिजा आउँदैन । नतिजा बिनाको सुशासनको अर्थ छैन । राज्य संरचनामा हामीले अनेकौं स्टक्चर सिर्जना गरेका छौं । सही काम गर्दागर्दै पनि त्यहाँ प्रश्न उठाइराखेका हुन्छौं । ठीक काम गरे पनि त्यसमा प्रश्न उठाउने भएकाले प्रशासनतन्त्रमा निर्णय नगर्ने प्रवृत्ति छ । निर्णय नभएपछि काम भएन ।’

‘दीगो विकासमा हामी तत्कालको मात्र कुरा गर्ने कि आउँदो पिढीको पनि कुरा गर्ने ? प्रकृतिसँग सहकार्य गरेर हामी अगाडि बढ्ने कि जेसुकै होस् भनेर तत्कालको आवश्यकता हेर्ने ? यो कुरा हामीले निर्धारण गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘तत्कालिक आवश्यकतालाई मध्यनजर राख्दा सामाजस्यता गर्नुपर्ने हुन्छ । श्रोत सानो छ, तत्काल गर्नुपर्ने राजनीतिक दबाब छ, त्यसमा कसरी सामाजस्यता गर्ने भन्ने कठिन चुनौति हाम्रा अगाडि छ ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘समृद्धि पनि तत्कालिक र दीर्घकालीन हुन्छ । आधुनिक विकास हामीले धेरै ढिलो सुरु गरेका हौं । राजनीतिक स्थरिता पनि ढिलो भयो । यो कुरा अहिले गरियो भने क्षमा पाइँदैन । सत्तामा बस्नेको यो बहानाबाजी हो भनिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here