साथी दुई किसिमका हुन्छन् । एउटा उखु जस्तो हुन्छ, जसलाई बटारे पनि, निचोरे पनि टोके पनि, पछारे पनि त्यसको स्वाद गुलियो हुन्छ । अर्को चाहिं चप्पल जस्तो साथी हुन्छ । साथ त दिन्छ । खुट्टामा काँडाले घोच्नबाट बचाउँछ । तर पछाडिबाट टाउकोसम्म पुग्ने गरी हिलोको छिटा छ्याप्छ ।’ हरिवंश आचार्य एक अन्तर्वार्तामा यसै भन्छन् ।
मित्रताको सन्दर्भमा उनी स्वयं एक आदर्श हुन् । अभिनेता मदनकृष्ण श्रेष्ठसँगको जुन वर्षौंदेखिको अविछिन्न घनिष्टता छ, त्यो आफैंमा अनुकरणीय छ । मदनकृष्ण नभएको भए वा हरिवंश नभएको भए ‘मह’ कहाँ पो हुन्थ्यो र ?
मित्रताको सन्दर्भमा धेरैसँग तीता–मीठा अनुभव हुन्छन् । अभिनेत्री मनिषा कोइरालाको भनाइ धेरैको जीवनभोगाइसँग मिल्दोजुल्दो हुन सक्छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई पहिले लाग्थ्यो, भिडभाडमा हाहाहुहु गर्ने साथीहरु मेरो दुःखमा पनि उभिन्छन् होला भन्ठान्थें । तर त्यस्तो त होइन रहेछ । कति हामी घुमफिर गर्थ्यौं, विश्व भ्रमण गर्थ्यौं, बिदाका समयहरु साथमै बिताउँथ्यौं, किनमेल साथमै गरिन्थ्यो । तर दुःख परेको बेला कोही हुँदैन ।’
एकताका बलिउडमा मनिषा कोइरालाको हाईहाई थियो । त्यो समय उनको थियो । फिल्महरु एकपछि अर्को हिट हुन्थे । पत्रपत्रिका, टेलिभिजनदेखि सिनेमा घरसम्म उनी सर्वत्र छाएकी थिइन् । तर समयक्रममा उनलाई क्यान्सरले गाँज्यो । त्यसअघि भर्खरै जोडिएको उनको दाम्पत्य जीवनको दुखान्त भयो । पाठेघरको मुखको क्यान्सरले थलिएपछि उनी लामो समय उपचारको उपक्रममा लागिन् । सम्भवत: यही बेला उनले महसुस गरिन्, ‘सुखका क्षण हाहाहुहु गर्न आउनेहरु खास साथी थिएनन् ।’
यस्तो तित्तता र रित्तता धेरैले अनुभव गरेको हुन्छ सायद । त्यसैले कतिपयले सुखमा मात्र रमाउन आउनेहरु असलमा साथी नहुने धारणा व्यक्त गरेका छन् ।
एक कुराकानीमा एलिना चौहानले भनेकी छन्, ‘जिन्दगीमा परिवार र आमाबुवाभन्दा ठूलो साथी कोही हुँदैन । आफ्नो दुःख बुझ्ने परिवारभन्दा अरु कोही हुन्न । पछि आएर गाँसिएका सम्बन्धहरु जसरी सजिलै जोडिएका हुन्छन्, त्यसरी नै सजिलै छुट्दै जान्छन् ।’
भन्ने गरिन्छ, साथीको सम्बन्ध सबैभन्दा माथि हुन्छ । त्यो कुनै स्वार्थले जेलिएको हुँदैन । त्यहाँ कुनै लेनदेन हुँदैन । त्यो निश्छल, निष्कपट र निर्मल हुन्छ । साथी संगतले जीवन धेरै फरक पार्ने कतिपयको अनुभव अनि बुझाइ पाइन्छ ।
जस्तो, सञ्चारकर्मी रुपेश श्रेष्ठले एक ठाउँमा लेखेका छन्, ‘सपनाको उडानमा रमाउनेहरुलाई, यथार्थको धरातलमा दरिलो गरी उभ्याउन भरपर्दो साथी चाहिन्छ । संगतले जिन्दगीमा धेरै कुरा फरक पार्छ । तपाईंको औंला समात्ने सहयात्री कस्तो छ भन्ने प्रश्नले तपाईंको यात्रा कस्तो हुने भन्ने तय गर्छ ।’
मित्रता कस्तो हुनुपर्छ र मित्रता कति जरुरी छ भन्ने कुरा त हाम्रा पौराणिक कथाहरुमा पनि दर्शाइएको छ । भगवान श्रीकृष्ण र सुदमाको कथालाई पवित्र मित्रताको उदाहरण दिने गरिन्छ । शक्ति, प्रभाव र सम्पन्नताले भरपुर श्रीकृष्ण आफ्ना पुरानो हितैषी सुदमासँग भेटेको र उत्तिकै हार्दिकतापूर्वक सम्बन्ध कायम गरेको कथा पढ्न, सुन्न पाइन्छ ।
हुन पनि जीवनमा सुख साट्न मात्र होइन, दुःख बाँड्न पनि साथी जरुरी हुन्छ । सजिलोमा साथ दिन मात्र होइन, अप्ठ्यारोमा हात दिन पनि साथी जरुरी हुन्छ । भनिन्छ, ‘यदि तिमीसँग असल साथीहरु छन् भने तिमीले रुनु पर्दैन ।’
जति धेरै साथीहरु हुन्छन्, उत्ति नै सहज हुन्छ भन्ने भनाइ पनि छ । किनभने साथीहरुले हामीलाई भर–अभरमा दर्बिलो साथ दिन्छन् । चाहे व्यक्तिगत जीवनलाई रसिलो बनाइराख्न होस् वा व्यावसायिक जीवनलाई सफल बनाउन नै साथीहरुको भूमिका अहम् हुन्छ ।
मानौं तपाईं कुनै व्यवसाय, उद्यम गर्दै हुनुहुन्छ भने तपाईंलाई सही सल्लाह दिने, आर्थिक-भौतिक सहयोग गर्ने साथीहरु जरुरी पर्छ ।
हुन त हाम्रो जीवनमा कति धेरै साथी हुन्छन् । बाल्यकालदेखि आजको दिनसम्म सम्झेर हेरौं त, तपाईं-हाम्रा साथी कति थिए कति । तर आज ती साथीहरु कहाँ छुटे ?
किनभने समयक्रममा जोडिन आउने सबै साथीहरुले तपाईंलाई जीवनभर साथ दिन्छ भन्ने छैन । यस्ता साथीहरु त कति हुन्छन्, हुन्छन् । तर जब तपाईंलाई दुःख पर्छ, अभाव हुन्छ, समस्या आइलाग्छ, विभिन्न झमेलामा परिन्छ तब तपाईंलाई साथ दिन आउने साथीहरु मात्र असलमा सच्चा साथी हुन् ।