भारत, उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् । दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृती बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो ।
बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति करिब १२ देखि ४ बजेको बीचमा भागेको हुनसक्ने आशंका प्रहरीको छ ।
लागूऔषध मुद्दामा पक्राउ परेकी बुढाथोकी फरार भएपछि उनीमाथि थप अभियोग लगाइएको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलाबाट ए क किलोभन्दा बढी चरेशसहित सन् २०२१ मा उनी पक्राउ परेकी थिइन् । उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो। अन्तिम टुंगो नलागेकाले बन्दी गृहमा राखिएको थियो । बुढाथोकी फरार घटनाले भारतीय प्रहरी तनावमा परेको थियो ।
१२ वटा छुट्टाछुट्टै टोली बनाएर खोजि कार्य चलिरहेको थियो। अन्ततः उनलाई पिथौरागढ नजिकको थल गाउँको जंगलमा फेला पारेपछि त्यहाँको प्रहरीलाई राहत महशुस भएको छ । प्रहरीले जिल्लाका ग्रामिण बस्ती, ब्यारियल, अन्तर्राष्ट्रिय झुला पुललगायत क्षेत्रमा सघन चेकिङ अभियान चलाएको थियो ।
त्यसक्रममा सीसीटीभी फुटेजहरु पनि हेरिएका थिए । प्रहरीले बुढाथोकीलाई सहयोग गरेको भन्दै थलका रबिन्द्र भट्ट, धार्चुला हिमखोलाका हरिष विष्ट र एक जना नाबालिकालाई पनि पक्राउ गरेको जनाएको छ । बुढाथोकी बन्दी गुहको झ्याल फोडेर फरार भएकी थिइन् ।