जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली लागेको छ। यसैगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका विभिन्न स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना कायम रहेको छ।