५० ग्राम सुन ल्याएर संकलन गर्ने गिरोहलाई काठमाडौंको अपराध अनुसन्धान कार्यालयले समाउन सफल

141
ad

काठमाडौं,२५ असार । वैदेशिक रोजगारीका लागि गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी गराएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने कामदारलाई प्रयोग गरेर सुविधाको ५० ग्राम वापतको सुन ल्याएर संकलन गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले समातेको हो ।

कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले विमानस्थलबाट धनुषाका सुनिलकुमार महरा, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु मुलाम मुराउ, धनुषाका नरेश पञ्जियार र बाँकेका भुमबहादुर वलीलाई ८२८ ग्राम सुनसहित पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

उनीहरुसँग सुन लिन आउने सप्तरी घर भइ सिनामंगल बस्ने विनोदकुमार शाह, उनकी श्रीमती सञ्जुकुमारी शाह, सप्तरीका दुर्गाप्रसाद यादव र देवानन्द शाह पक्राउ परेका थिए । डा. केसीका अनुसार, शाहको सिनामंगलमा बी हिमालयन स्पायर नामक होटल छ । त्यही होटलमा विदेशी कामदारले ल्याएको सुन संकलन हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार शाहको खातामा मात्रै ४१ करोड रुपैयाँभन्दा बढी कारोबार रहेको फेला परेको छ । पक्राउ परेका दुर्गा यादवले मुख्य नाइके सिराहाका शिवसुन्दर राउतलाई पैसा पठाउने गरेको पाइएको छ । देवानन्दले विनोदको खातामा रकम डिपोजिट गरेको अनुसन्धानबाट देखिएको अधिकृतहरु बताउँछन् ।

प्रहरीले मुख्य नाइके राउतलाई सिराहाबाट पक्राउ गरेको छ । उनको खातामा एक अर्ब ९७ करोडभन्दा बढी कारोबार देखिएको छ । सिराहाबाटै पक्राउ परेका मोहनकुमार यादवले शिवसुन्दरको खातामा रकम हाल्ने र झिक्ने काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

अधिकृतहरुका अनुसार यो गिरोहका लागि सुन ल्याइदिएवापत कामदारहरुलाई कम्तिमा १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार उनीहरुले एउटै फ्लाइटमा २० जनासम्मलाई सुविधाको सुन बोकाएर पठाएको पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here