काठमाडौं- लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिकाे समूह ए काे विजेताकाे रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ ।
रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि पर्याप्त भयो ।
खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि मेक्सिकोले फाइदा उठायो । मिडफिल्डर रोमोले सही समयमा बललाई खाली पोस्टको दिशा दिए ।
दक्षिण कोरियाले खेलको ८७औँ मिनेटमा बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, चो ग्यु–सुङको नजिकैको हेडरलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले बचाए ।
खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्याे ।























