काठमाडौं- सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर हुने ८ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने १७ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ।
यी सबै हिस्सा कटाएर बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरेर अनलाइन आवेदन दिन पनि सकिनेछ।























