गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छ– डब्लुएचओ प्रमुख

143
ad

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ। छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरूसँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिए।

‘स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ’, जेनेभामा भएको बैठकको प्रारम्भमा उनले भने, ‘धेरैभन्दा धेरै मानिस साना साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन, पानी, आश्रय र सरसफाइको कमीले रोग फैलिने स्थिति उत्पन्न भइरहेको छ।’

टेड्रोसले महामारीसम्बन्धी रोगका चिन्ताजनक लक्षणहरू रहेको भन्दै बिग्रँदै गएको अवस्था र चिसोको अवस्थाले जोखिम अझ बढ्ने आशङ्का रहेको उल्लेख गरे। ‘गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन्, तीमध्ये दुई वटा मात्र तटीय क्षेत्रको उत्तरमा छन्’, उनले भने।

उनले अस्पतालहरूमा तीन हजार पाँच सय शय्यामध्ये एक हजार चार सय शय्या अहिले पनि उपलब्ध रहेको बताए। उनका अनुसार दक्षिणी गाजाका दुई प्रमुख अस्पतालले आफ्नो शय्या क्षमताभन्दा तीन गुणा अधिकमा काम गरिरहेका छन्। आपूर्ति सकिँदै गइरहेको छ र हजारौं विस्थापितलाई ती अस्पतालले आश्रय दिइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here