काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।
यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।