ग्राण्डीमा सुरु भयो ‘क्षयरोग उपचार डट्स केन्द्र’

208
ad

काठमाडौँ, ८ असोज । काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको हो ।

उक्त केन्द्रको आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा विजुक्छेले अस्पतालमा अन्य रोगको उपचार गर्न आएका क्षयरोगका विरामीलाई औषधी सेवनका लागि सहज होस् भन्ने उदेश्यले क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधी वितरण गर्दै आएको बताउनुभयो । “टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधी वितरण सुरु गर्न लागेको हो, यसले टोखाबासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ,”– उहाँले भन्नुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रेष्ठले सन् २०३० सम्ममा नेपालभर क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताउनुभयो । उहाँले छिटै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने उहाँको भनाई छ ।

यस्तै, क्षयरोगको औषधी टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।

सन् २०१३ मा स्थापना भएको सो अस्पतालले हाल अर्थोपेडिक, न्यूरोलोजी, नाक, कान घाँटी, मुटुरोग, चर्म तथा यौन, स्त्री तथा प्रसुती, आँखा, मृगौला प्रत्यारोपण, शल्यक्रिया, ग्यास्टोलोजी, वाथरोग, आँखालगायतका ३५ विभागमार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको सो अस्पतालका मार्केटिङ प्रमुख भास्करकुमार दासले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here