लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान सञ्चालन

135
ad

काभ्रे, २३ साउन । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो । एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ ।

धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताए । उनका अनुसार जिल्लामा ३६ हजार एक सय तीन पशुलाई खोप लगाइसकिएको छ । उक्त सङ्क्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार छ सय ५६ पशु सङ्क्रमित भएका छन् ।

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आठ सय ७३ गाई र एक लाख ४८ हजार छ सय ४० भैँसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए । यसैबीच दैनिक पशु मर्न थालेपछि धुलिखेल–२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग–अलग राहत दिने निर्णय गरिएको छ । काभ्रेपलाञ्चोकमा २०८० वैशाखमा पहिलोपटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको तथ्याङ्कले देखाएको छ ।

हालसम्म उक्त वडामा ६५ गाई मरिसकेको वडाध्यक्ष अर्जुन न्यौपानेले बताए । न्यौपानेका अनुसार गाई तथा भैँसी मरेकोलाई प्रतिगोटा १० हजार र चार महिना कटेको कोरली बाछी, पाडा तथा पाडी मरेको अवस्थामा पाँच हजार उपलब्ध गराउने निर्णय गएिको छ । बिरामी गाईको हकमा ५० प्रतिशत औषधिमा अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष न्यौपानेले बताए । यस्तै चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् । यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन ।

लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here