सचिवालयबाट छोरी गंगालाई हटाउन प्रचण्डलाई माओवादी नेताहरुकै दबाब

106
ad

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को हिजोदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नेतृत्वको गलत कार्यशैलीको कारण पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे । उनीहरुले नेताहरुले आफ्नो सचिवालयमा छोरा–छोरी, ज्वाँई, भाई र भतिजाहरु राखेको र असल नेता तथा कार्यकर्ताहरु पाखा लगाईएको गुनासो गरेका थिए ।

केन्द्रीय सदस्य ओम शर्माले त अध्यक्ष प्रचण्ड यही तवरले नेतृत्वमा अर्को २० वर्ष नेतृत्वमा रहेपनि समाजवादको लक्ष्यमा पुग्न नसकिने ठोकुवा गरे । अरु नेताहरुले पनि माओवादीका अहिले सरकारमा भएका नेताहरुले सचिवालयमा आफ्ना आफन्तबाहेक अरुलाई अवसर नदिएको गुनासो गरे । उनीहरुले नेतृत्वले र लाभको पदमा हुनेले परिवारलाई सचिवालयमा राख्नुले पनि माओवादी भ्रष्टीकरणको बाटोमा अघि बढेको प्रमाण भएको दाबी गरेका थिए ।

उनीहरुले जनयुद्धकालमा नेतृत्वलाई जनताका छोराछोरीले सहयोग गरेको भएपनि अहिले सत्ता र शक्तिमा आएपछि भने आफ्नै सन्तान आवश्यक हुनुले पनि पार्टीको भविष्य खराब रहेको स्पष्ट हुने धारणा राखेका थिए । कतिपयले त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रमुख स्वकिय सचिवमा छोरी गंगा दाहाललाई राखेकोमा आपत्ति जनाए । उनीहरुले प्रचण्डको छोरी–मोहको कारण बालुवाटार र सिंहदरबारमा पार्टीका असल नेता तथा कार्यकर्ताहरुले आफ्नो सुप्रिमोलाई भेट्ने र दुःख सुखका कुरा राख्ने अवसरसमेत नपाएको गुनासो पोखेका छन् ।

उनीहरुले अध्यक्ष प्रचण्डलाई सुध्रिने हो भने पहिला सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन घुमाउरो तरिकाले सुझाव दिएका छन् । अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न र आलोचना गरेका छन् । केन्द्रीय कमिटीको बैठक आजपनि जारी छ ।

आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका छन् । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेडेकोले यसलाई निश्कर्षमा पुर्याएरै छाड्ने उद्घोष गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा आफूले भ्रष्टाचारका ठूला ठूला फाइल खोलेको भन्दै अब कारबाही गर्दै जाँदा आफ्नै पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएको पाईए नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here