एक वर्षमा रोजगारीको लागि ४४ हजार भन्दा धेरै नेपाली पुगे युरोप

92
ad

काठमाण्डौ – नेपालीहरुले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड लगायतका देशमा जाने नेपालीहरुको सङ्ख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याँक अनुसार नेपालीहरुले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाइ र क्यानडा रहेका छन् ।

यी देशमा जान मात्रै आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालीहरु धेरै रोजगारीमा जाने युरोपेली देशमध्ये रोमानियाको लागि १ हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रोमानियाको लागि ७ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । क्रोएसियाको लागि आर्थिक वर्ष २०७९/८० मा ५ सय २९ महिलासहित ७ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । जुन त्यसको अघिल्लो आर्थिक वर्षको भन्दा २ हजार भन्दा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा क्रोएसियाको लागि ५ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

यस्तै युरोपेली अर्को देश साइप्रस जाने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार १८१ जना नेपाली साइप्रस गएकोमा गत वर्ष बढेर यो संख्या ४ हजार ३४६ महिलासहित ५ हजार ३१७ पुगेको छ । साइप्रस घरेलु महिला श्रमिकको लागि खुल्ला गरेकाले यहाँ जाने महिला श्रमिकको संख्या बढी छ । यस्तै पोल्याण्ड जाने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७९/८० मा पोल्याण्ड जानको लागि ७१४ महिलासहित ५ हजार ११२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो वर्ष यो देशको रोजगारीमा जान एक हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यस्तै दक्षिण युरोपेली देश माल्टा पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९१५ जना रोजगारीको लागि माल्टा पुगेका थिए । तर गएको आर्थिक वर्षमा माल्टा जानेको लहर ह्रवात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५६८ पुरुष र एक हजार ७३५ महिला गरी ६ हजार ३०३ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै आर्थिक वर्ष २०७९/८० मा रोजगारीको लागि बेलायत जान ६६९ महिलासहित २ हजार २६४ जना र सर्बिया जान २३३ महिलासहित ९६२ जनाले श्रम स्वीकृति लिएका छन् । २०७८/७९ मा सर्बियाको लागि ९६ जनाले श्रम स्वीकृति लिएका थिए । बेलायतमा भने मौसमी श्रमिकको नाममा पठाउँदा त्यो समयमा अलि धेरै श्रमिक बेलायत गएको देखिन्छ ।

२ हजार ८१४ जनाले बेलायतको लागि श्रम स्वीकृति लिएका थिए । पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइ गन्तव्य बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा ६४ महिलासहित ७ सय ३२ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो आर्थिक वर्ष मा जम्मा ७९ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका थिए । यस्तै ब्रुनाइ जान १२७ महिलासहित १३ सय ५५ जना र क्यानडाको लागि १२१ महिलासहित ६४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

कामको खोजी गर्दै देश छाडेर विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो छ । आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा मलेसिया जाने धेरै आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया गएका छन् । यो अवधिमा रोजगारीको लागि मलेसिया जान ७ हजार २९९ महिलासहित २ लाख ५९ हजार ५९४ जनाले नेपाल सरकारबाट श्रम तथा पुनः स्वीकृति लिएका छन् । जसमध्ये २ लाख १९ हजार ३५७ जनाले मलेसिया जान पहिलोपटक श्रम स्वीकृति लिएका हुन् । मलेसियाको सरकार पछिल्लो समय श्रमिकको पक्षमा लचिलो बन्दै गएको छ । आधारभूत तलब बढाएर १५ सय रिंगिट पुराइएको छ ।

मृत्युदण्डको सजाय हुने लगायत केही कानुनमा सुधार गरेको छ । यस्तै त्यहाँको हावापानी नेपालकोसँग मिल्दोजुल्दो भएकाले पनि त्यहाँको आकर्षण बेढेको देखिन्छ । खाडीको आकर्षण कायमै मलेसियापछि सबैभन्दा धेरै नेपालीको आकर्षण खाडीका देशमा छ । खाडीका देशमा पनि कतार जानेको संख्या बढी छ । गएको आर्थिक वर्षमा ६ हजार ६९९ महिलासहित १ लाख ३३ हजार २६२ जनाले कतार जान श्रम स्वीकृति लिएका हुन् । यस्तै यूएई जान २४ हजार ९१ महिलासहित १ लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । साउदी नेपाली श्रमिकको रोजाइमा चौथो स्थानमा छ ।

९३३ महिलासहित एक लाख १२ हजार ७७७ जनाले साउदी जान श्रम स्वीकृति लिएका छन् । यस्तै कुवेत जान ३१ हजार ६९१ पुरुष ११ हजार ८१६ महिला गरी ४३ हजार ५०७ जना र बहराइनको लागि १ हजार ११७ महिला र ६ हजार ५१४ पुरुष गरी ७ हजार ६९० जनाले श्रम स्वीकृति लिएका छन् । खाडीकै अर्को देश ओमानको लागि श्रम स्वीकृति लिनेको संख्या ३ हजार ९५५ पुरुष र १ हजार ३३९ महिला गरी ५ हजार २९४ छ । खाडीबाहेकको कुरा गर्दा जापानको लागि १ हजार ४५८ महिलासहित ९ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालबाट सरकारी प्रक्रियामा श्रमिक पठाइने देश इजरायलमा एक हजार ८४ जना गएका छन् भने दक्षिण कोरियामा २२ हजार ३३ जना गएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here