काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गए पनि सडकमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको छैन ।
जेनजी पुस्ताका नाममा भएको प्रदर्शनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नै जलाइयो ।
कलंकी, बल्खु, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, गोंगबुलगायत केही मुख्य चोकमा सादा पोशाकमै भएपनि फ्लोरोसेन्ट ज्याकेट लगाएर ट्राफिक प्रहरीले ड्युटी गरिरहेका छन् ।
केही छिटपुट पोशाक बचेकाले कतिपय भने पोशाकमै ड्युटी गरिरहेका भेटिन्छन् ।
सडकमा राखिएका सीसीटीभी मात्रै नभएर काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक कार्यालयका सीसीटीभी मनिटरिङ कक्षसमेत जलाइदिएपछि अहिले प्रविधिमार्फत हुँदै आएको ट्राफिक व्यवस्थापनको कम समेत रोकिएको छ ।
पछिल्ला तीन/चार दिनदेखि सडकमा ट्राफिक नियमको पालना भइरहेको छैन । मनपरी ढंगले सवारी हाँक्ने क्रम बढेको छ । दुर्घटना भएपनि त्यसको रेकर्ड अभिलेख राख्ने डायरी समेत अहिले ट्राफिक प्रहरीसँग छैन ।
कारबाहीका क्रममा ट्राफिक प्रहरीले लिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लु बूक समेत जलेका छन् ।
केही चोकमा भोलेन्टियरका रूपमा सर्वसाधारण ट्राफिक व्यवस्थापनमा लागेका छन् । काठमाडौं र ललितपुरमा महानगर प्रहरीले सडकमा सवारी व्यवस्थापनको काम गरिरहेका छन् ।
गृहमन्त्रीसामु काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले कार्यालयको पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए ।
भवन पुनर्निर्माण तथा अत्यावश्यक अन्य काममा सरकारले सहयोग गर्ने भन्दै अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
















