अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्छ : अध्यक्ष ओली

87
ad

काभ्रे । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा-२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आज आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याए ।

‘अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ’, अध्यक्ष ओलीले भने । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढंगले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिए ।

‘अर्थतन्त्र बलियो नहुँदा जनतामा निरासा छाएको देखियो, यसमा सरकारलगायत सबै पक्षले अब आ-आफ्नो दायित्वप्रति गम्भीर हुनुपर्छ’, अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘रोजगारी हैन, उद्यमशीलता प्रमुख विषय हो, उद्यमशीलताले रोजगारी सिर्जना गर्ने हो, यसरी अरूलाई पनि रोजगारी दिन सकिन्छ ।’

उनले इन्द्रावती नदीको पानी टनेलमार्फत ल्याई मण्डनदेउपुर र पाँचखालको फाँट हराभरा बनाउन सकिने तथा यस भेगका युवामा आफूले खेलकुदमा आकर्षण देखेकाले ‘मल्टिपरपोज’ खेल मैदान निर्माण गर्न सकिने बताए ।

अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताए । ‘अन्य व्यवसायलाई निर्वाहमुखी हैन, विकासमुखी र परिवर्तन गर्नेगरी अघि बढाउनुपर्छ’, अध्यक्ष ओलीले भने ।

उनले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले संकल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढंगले यात्रा अघि बढिरहेको जनाउँदै खुसी व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here