‘कांग्रेसले मजदुरलाई उपेक्षा गर्दा पार्टी कमजोर बन्यो’

131
ad


काठमाडौँ । नेपाली कांग्रेसले मजदुरलाई उपेक्षा गर्दा पार्टी कमजोर बनेको वक्ताहरुले बताएका छन् ।

प्रजातान्त्रिक समाजवादलाई प्रवद्र्धन गर्दै आएको जर्मनी संस्था एफईएसको सहयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आज यहाँ आयोजना गरेको ‘बदलिँदो परिपेक्षमा ट्रेड युनियनको क्षमता निर्माण ः विधि र नियमावली’ विषयक कार्यशाला गोष्ठीमा वक्ताहरुले कांग्रेसले मजदुर क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् ।

कार्यक्रममा राजनीतिक विश्लेषक हरि शर्माले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो शक्तिलाई प्रदर्शन गर्न नसकेको बताउनुभयो । “लाखौँ मजदुरहरु आवद्ध रहेको टे«ड युनियनले आफ्नो मागलाई पार्टी नेतृत्वप्रति प्रष्ट ढङ्गले राख्न सक्नुपर्छ,”– उहाँले भन्नुभयो ।

पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको उहाँको भनाई थियो । उहाँले नेपाली कांग्रेसले मजदुरलाई उपेक्षा गरेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नीतिगत अस्पष्टतालाई पन्छाएर नेपाल ट्रेड युनियन आन्दोलन अगाडि बढ्ने बताउनुभयो । उहाँले नेपाल ट्रेड युनियन कांग्रेस मजदुर, महिलाप्रति जिम्मेवार बनेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ट्रेड युनियन कांग्रेस सेवामुखी भएर अगाडि बढ्ने उहाँको भनाई थियो ।

एफईएस नेपालका आवासीय निर्देशक नतालिया फिग्गेले प्रजातान्त्रिक मूल्यमान्यतामा हिँडेका नेपालका श्रमिकको हक, हित र अधिकारको क्षेत्रमा एफईएसले काम गर्दै आएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले मुद्दाको पहिचान गरेर नेपाल ट्रेड युनियन आन्दोलन अगाडि बढ्ने बताउनुभयो । उहाँले ट्रेड युनियन आन्दोलनलाई थप शशक्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुईदिनसम्म चल्ने गोष्ठीमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा सञ्जय चौधरीले ‘नेपालको वर्तमान सामाजिक आर्थिक अवस्था, ट्रेड युनियनको भूमिका’ सम्बन्धी र पत्रकार सरस्वती ढकालले ‘ट्रेड युनियनमा महिला सहभागीता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here