जनक घमिरे
फागुन २१ नजिकिँदै गर्दा देश फेरि एकपटक महत्त्वपूर्ण चुनावी चरणमा प्रवेश गर्दैछ। यस्तो संवेदनशील समयमा राजनीतिक दलहरू जनतामाझ आफ्नो एजेन्डा, विश्वसनीयता र विकल्प प्रस्तुत गर्न व्यस्त हुनुपर्ने हो। तर प्रमुख राजनैतिक दल नेपाली काङ्ग्रेसभित्र भने चुनावभन्दा बढी महाधिवेशनको बहसले प्राथमिकता पाएको देखिन्छ।
हालै जेन्जी आन्दोलनपछि सिर्जित देशको विषम परिस्थिति—युवामा बढ्दो आक्रोश, निराशा, बेरोजगारी र प्रणालीप्रतिको असन्तुष्टि—राजनीतिक दलहरूका लागि चेतावनी मात्र होइन, आत्मामुल्याङ्कन गर्दै आत्मसुधारको अवसर पनि हो। नेपाली काङ्ग्रेसजस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले यो अवस्थालाई जनविश्वास पुनःआर्जन गर्ने मौकाका रूपमा उपयोग गर्न सक्थ्यो। तर यही परिस्थितिलाई आधार बनाएर केही व्यक्ति विशेष, विशेष महाधिवेशनको तयारीमा लाग्नुले पार्टीभित्र नयाँ अन्योल सिर्जना गरेको छ।
विशेष महाधिवेशन कुनै पनि पार्टीका लागि सामान्य अभ्यास होइन। नेतृत्व पूर्ण रूपमा असफल भएको, संरचना निष्क्रिय बनेको वा पार्टी विघटनको संघारमा पुगेको अवस्थामा मात्र यसको औचित्य पुष्टि हुन्छ। तर वर्तमान अवस्थामा नेपाली काङ्ग्रेस त्यस्तो गम्भीर संकटमा छैन। बरु पार्टीको मुख्य चुनौती चुनावी तयारी, संगठन सुदृढीकरण र जनतासँग स्पष्ट संवाद हो।
चुनाव नजिकिँदै गर्दा विशेष महाधिवेशनको बहसले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा पनि गुटीय ध्रुवीकरण बढाउने, कार्यकर्तालाई अन्योलमा पार्ने र जनतामा नकारात्मक सन्देश जाने खतरा स्पष्ट देखिन्छ। “काङ्ग्रेस आफैँभित्र अलमलिएको छ” भन्ने धारणा स्थापित हुनु पार्टीका लागि दीर्घकालीन क्षति हुन सक्छ।
यसको व्यवहारिक र लोकतान्त्रिक समाधान भनेको—
फागुन २१ को चुनावमा पूर्ण रूपमा केन्द्रित हुने,
सबै तहका नेता–कार्यकर्तालाई एउटै चुनावी उद्देश्यमा एकताबद्ध गर्ने, र चुनावपछाडि बैसाखमा विधानअनुसार नियमित महाधिवेशन गरेर नेतृत्व, नीति र कार्यदिशाबारे खुला र वैधानिक निर्णय गर्ने हो।
नियमित महाधिवेशनले पार्टीभित्रको असन्तुष्टिलाई संस्थागत निकास दिन्छ, प्रतिस्पर्धालाई लोकतान्त्रिक बनाउँछ र नेतृत्वलाई नैतिक तथा राजनीतिक वैधता प्रदान गर्छ। यसको विपरीत, विशेष महाधिवेशनले अहिलेको चुनावी ऊर्जा कमजोर पार्ने र पार्टीलाई थप आन्तरिक द्वन्द्वतर्फ धकेल्ने सम्भावना प्रबल देखिन्छ र जनतामा “काङ्ग्रेस आफैँ मिल्न सकेन” भन्ने सन्देश दिन्छ।
आज नेपाली काङ्ग्रेसलाई सहि क्रम आवश्यक छ हतारो परिवर्तन होइन । लोकतन्त्रको बल प्रक्रियामा हुन्छ, अस्थिरता र हतारमा होइन।
चुनाव लड्ने पार्टीले पहिले आफैँ स्थिर, संगठित र जिम्मेवार देखिनु आवश्यक छ। एकताबद्ध काङ्ग्रेसले मात्र देशलाई स्थायित्व र आशा दिन सक्छ। अबको प्रश्न स्पष्ट छ , नेतृत्व र कार्यकर्ताले प्राथमिकता आन्तरिक शक्ति संघर्षलाई दिने कि जनताको विश्वासलाई?
इतिहासले यही उत्तर खोजिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
















