सिसडोलमा फोहोर फाल्न नरोकिने, स्थानीयको स्वाब परीक्षण महानगरले गर्ने

नुवाकोट — काठमाडौं महानगरपालिकाले ककनी गाउँपालिकाका बासिन्दाको स्वाब परीक्षण गरिदिने भएपछि सिसडोलमा फोहोर विसर्जनका विषयमा हुँदै आएको विवाद साम्य भएको छ ।

 

कोभिड १९ कोसंक्रमण बढेसँगै उपत्यकाबाट आउने फोहोरबाट समेत जोखिम बढ्ने भन्दै स्थानीयले स्वाब परीक्षणको माग गर्दै आएका थिए । ककनी गाउँपालिकाले एक साता गाउँपालिका सिल गरेपछि सिसडोलमा फोहोर फाल्न समस्या भएको थियो । ककनी १, २ र ३ वडाका ३ सय बासिन्दाको स्वाब परीक्षण गरिने भएपछि उपत्यकाकाको फोहोर फाल्न दिने सहमति भएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबारबाटै पीसीआर गरिदिने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

सोमबार राष्ट्रिय सभागृहमा मेयर शाक्य र ककनी गाउँपालिका अध्यक्ष लामा लगायतका पदाधिकारीबीच उक्त सहमति बनेको हो ।

काठमाडौं उपत्यका र धादिङसँग जोडिएको सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको थियो । कोरोना जोखिम नियन्त्रण गर्न सोमबारदेखि १२ जेठसम्म एम्बुलेन्सबाहेक सबै सवारीसाधन बन्द गराउने र हिँडडुलसमेत प्रतिबन्ध लगाई सिल गरिएको अध्यक्ष लामाले बताए ।

फाेहाेरमैला काे कारण सिसडाेल covid – 19 काे जाेखिम सराेकारवाला माैन्

उपत्यकासहित १८ वटा नगरपालिकाले ओखरपौवास्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । उपत्यकाबाट फालिने फोहोर नुवाकोटपट्टि विसर्जन गरिँदै आएको छ । २०६२ सालमा नुवाकोटको ओखरपौवामा २/३ वर्षका लागि मात्र फोहोर फ्याँक्ने सहमति भएको थियो । त्यतिबेला ३ सय टन फालिँदै आएकोमा अहिले दैनिक ८/९ टन फोहोर विसर्जन हुने गरेको छ ।

सिसडोल काठमाडौंदेखि १७ किलोमिटर दूरीमा छ । नुवाकोट र धादिङबीच भएर बग्ने ठाडो कोल्पुखोलाले बनाएको खाडीमा फोहोर फाल्ने गरिएको छ । २/३ दिन टेकु संकलन केन्द्रमा फोहोर सडाएर सिसडोल ल्याउँदा ट्रकबाट चुहिएको तरल पदार्थले सडकै दुर्गन्धित हुने गरेको छ । सिसडोलमा फालिने फोहोरको दुर्गन्धले चलेटार, न्यौपानेटोल, कोल्पुटार, मगटापाचमुरे, कागतीगाउँ, सिउँडेनी, थापाटोल, गौतमटोल, खोलाखेत, ऐंसेलुसिम धादिङको साबिक छत्रेदेउराली-६ को थुम्का, कार्कीगाउँ, सानागाउँ, गैह्रीगाउँ, सिम्खडागाउँ, डिगाउँ, उप्रेतीगाउँ लगायत अतिप्रभावित बन्ने गरेका छन् ।