‘लकडाउन’ अवधिमा उपत्यकामा श्रीमान्/श्रीमतीको झगडाबाहेक अन्य अपराध शून्य

लकडाउन’को अवधिमा उपत्यकामा जघंन्य अपराधको घटना शून्य छ । लुटपाट, चोरी, हत्याजस्ता अपराधका घटना भइरहने उपत्यकामा लकडाउनको अवधिमा भने यस्ता प्रकारका कुनै पनि आपराधिक घटनाको उजुरी नआएको प्रहरीले जनाएको हो ।

‘लकडाउन’ अवधिमा सबै घर–घरमा बस्ने र महामारीको त्रासका कारण अरु आपराधिक गतिविधिका घटना नभएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीको भनाइ छ ।

‘उपत्यकामा सबैभन्दा बढी चोरीका घटना हुने गर्थे, लकडाउनले सबै घरमा बसेपछि चोरीको एउटा पनि उजुरी आएको छैन, अपराधका घटना शून्य नै छ,’ एसएसपी सुवेदीले भने ।

यसबाहेक श्रीमान्/श्रीमतीको घरझगडाको उजुरी भने आएको सुवेदीले बताए । विश्वमा कोरोना भाइरस कोभिड–१९ ले महामारीको रूप लिएपछि सरकारले मंगलबारदेखि देश पूरै १ साताका लागि ‘लकडाउन’ गरको छ । आज ‘लकडाउन’काे पाँचाैँ दिन हाे ।

‘यसरी लकडाउन’को पालना नगर्ने काठमाडौंका विभिन्न ठाउँबाट ४ सय ४४ जनालाई नियन्त्रणमा लिएको परिसरका डीएसपी होवीन्द्र बोगटीले बताए । हाल नेपालमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

  • त्यसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।