पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराए ।

उनले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएको महासचिव विष्टले बताए ।

उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ भत्र्सना गर्दछ भने ।