पछि हटे देउवा, दशैंलगत्तै अधिवेशन

केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेर देउवाले तल्ला तहका अधिवेशन अघि ल्याएका हुन्।

बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा ल्याउन देउवा कार्यतालिका हेरफेर गर्न मात्र होइन क्रियाशील सदस्यता छानविन समिति गठन गर्न पनि तयार भए।

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्य मात्रै उपस्थित केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका, विभाग बढाउने, क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन गर्ने निर्णय गरेपछि पार्टीमा डेढ महिनादेखि विवाद बढेको थियो।

सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस ११ का केही निर्णयलाई नचलाइ वडादेखि प्रदेश अधिवेशनसम्मका कार्यतालिका करिब एक महिना अघि ल्याएको छ। विधान मिचेर गठन गर्ने निर्णय गरिएको ४७ विभाग के गर्ने भन्नेमा छलफल भएको छैन।

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका:

  • गाउँ–नगर वडा अधिवेशन: २०७७ कात्तिक १६ गते
  • गाउँ–नगरपालिका अधिवेशन: २०७७ कात्तिक १८ गते
  • प्रदेशसभा क्षेत्रीय अधिवेशन: २०७७ कात्तिक २१ गते
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७७ कात्तिक २३ गते
  • एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७७ कात्तिक २५ गते
  • प्रदेश अधिवेशन: २०७७ मंसिर २९ गते
  • केन्द्रीय महाधिवेशन: २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं।