पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए। “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भने। 

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले  केही दिन मौसम खुला हुने र  फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ ।
 
तराईका भूभागमा बाक्लो हुस्सु-कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ। राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।