पौडेल र सिटौलाले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन्।

सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपमा सांगठनिक र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका थिए।

बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको थियो।

सभापति देउवाले पार्टीका विधानमा रहेका २८ विभाग बढाउन लागेको, १४ औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभएकोभन्दै पौडेल र सिटौलाले बैठक बहिष्कार गरेका हुन्।

नेता पौडेल पार्टी कार्यालय सानेपामै भए पनि बैठकमा सहभागी नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पौडेल र सिटौलाबिनै केन्द्रीय समिति बैठक बसिरहेको पनि उनले बताए।