उपमेयर खड्गीद्वारा टुँडिखेल अनुगमन

काठमाडौं महानगरपालिका उप–मेयर हरिप्रभा खड्गीले टुँडिखेल अनुगमन गरेकी छन्। बुधबार उनले खुलामञ्च र रानीपोखरी अनुगमन गरेकी हुन्।

‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत सोमबार महानगरपालिका मेयर र उपमेयरलाई तत्काल टुँडिखेल अनुगमन गर्न पत्र दिइएको थियो। त्यसैअनुरुप उनले यी ठाउँका अनुगमन गरिन्।

अनुगमनक्रममा खुलामञ्च पुग्दै भूकम्पपछि बनाइएका अस्थायी संरचना चाँडै हटाइने खड्गीले बताइन्। त्यसपछि, रानीपोखरी पुगेर त्यहाँ डोजर प्रयोग भएकोमा आपत्ति जनाइन्। राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई डोजरको प्रयोग सम्पदा संरक्षण विरुद्ध भएकाले तत्काल पत्र पठाइ काम रोक्का गराइने प्रतिबद्धता जनाइन्।

रानीपोखरी, खुलामञ्च लगायत सबै टुँडिखेलका हिस्सा हुन्। हाल अतिक्रमणमा परेकाले खुला बनाउन ‘मुक्त टुँडिखेल’ अभियान चलिरहेको छ। अभियानअन्तर्गत तीन महिनासम्म प्रत्यक शनिबार विभिन्न कार्यक्रम भइरहेको छ। जसअन्तर्गत, टुँडिखेल वरिपरि मानव साङलो बनाउने, खरीको रुख रोप्ने र कविता वाचनको कार्यक्रम भइसकेको छ।