उपनिर्वाचनपछि भातृसंस्था नेविसंघले नेतृत्व पाउँछ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनपछि भातृसंस्था नेपाल विद्यार्थी संघले नेतृत्व पाउने बताएका छन्।

मंगलबार आफ्नो निवास पुगेका नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलगायतसँगको छलफलपछि देउवाले १२ औं महाधिवेशनका लागि नेविसंघमा नेतृत्व दिइने बताएका हुन्।

‘उपनिर्वाचनपछि नेविसंघलाई नेतृत्व दिन्छु भन्नुभएको छ,’ शाहले भने, ‘न्याय गर्छु भन्नु भएको छ।’ देउवाले नेविसंघलाई नेतृत्व दिन सुनसरीका राजीव ढुंगानाको नाम सभापतिका लागि प्रस्ताव गरेका थिए।

उनी नेविसंघको विधानअनुसार ३२ वर्षे उमेरहद कटेको भन्दै नेविसंघमै विरोध भइरहेको छ।

नेविसंघ नेतृत्वविहीन भएको नौ महिना भइसकेको छ।

सभापति देउवासँग भेटमा आफूले भारतीय सीमा अतिक्रमण र नयाँ नक्सामा नेपालको भूमि समावेशपछि नेविसंघले गरिरहेको सडक प्रदर्शनबारे जानकारी गराएको शाहले बताए।

‘आन्दोलन ठीक छ, राम्रो गर्‍यौं भन्नुभयो,’ शाहले भने।