राजनीतिक चरित्र हत्या गर्न म पक्राउ परेको समाचार प्रकाशित गरियो:सांसद बानियाँ

काठमाडौँ – प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् ।

सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् ।

उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म हिजो ७-८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको हुँ । त्यसपछि म कहिँ पनि गएको छैन । घरमा नै छु ।’

उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको समेत जानकारी दिए ।

मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।

  • महाराजगञ्ज प्रहरीले पक्राउ गरेका २५ जुवाडेहरुमा बानियाँ पनि परेको भन्ने समाचार प्रकाशित भएको थियो ।