कांग्रेसको प्रशिक्षणमा ९ वटा अवधारणापत्र

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीबाट गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहित सम्वन्धित गाउँपालिकाका पार्टी इकाई सभापतिका लागि कात्तिक १ गतेबाट संयुक्त प्रशिक्षण कार्यक्रम गर्ने तय भएको छ ।

प्रतिष्ठानका सदस्यसचिव मुक्ति आचार्यका अनुसार दुई दिन चल्ने प्रशिक्षण कृषि विकास बैंकको तालिम केन्द्र बोडे, मध्यपुर थिमी नगरपालिका भक्तपुरमा चल्ने छ । प्रतिष्ठानले कार्यक्रमका लागि कांग्रेसका तर्फबाट ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ्ग संयोजक रहेको सहयोग समिति गठन गरेको जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रममा नौ ओटा अवधारणा पत्र प्रस्तुत गरिने आचार्यले जानकारी दिए । उनका अनुसार वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघ बीच सम्बन्ध र साझा अधिकार विषयमा अवधारणा पत्र प्रस्तुत गरिनेछ ।

त्यस्तै योजना र बजेट तर्जुमा, स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाइ कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुकालागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी र संघीय सरकारका असफलताहरुका विषयमा अवधारणा पत्र प्रस्तुत हुनेछन ।

प्रतिष्ठानले यसअघि नगरपालिकामा पार्टीका तर्फबाट विजयी प्रमुख र उपप्रमुख हरुलाई पनि प्रशिक्षण दिएको थियो । प्रशिक्षण कार्यक्रमको केन्द्रमा सम्पर्क व्यक्ति प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, सदस्य राजु नेपाल, प्रतिष्ठानका सचिव मुक्ति आचार्य, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा र इन्द्रवती गाउँपालिका अध्यक्ष तामाङ रहेको आचार्यले बताए ।