मंसिर १४ उपनिर्वाचन : कुन दलले पाए कस्तो निर्वाचन चिन्ह

निर्वाचन आयोगले नयाँ दर्ता भएका दलहरूलाई मंसिर १४ गतेको उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ।

उपचिनर्वाचनका लागि ४८ दल दर्ता भएका छन्।

आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस लगायतका दलहरूले पुरानै चुनाव चिह्न पाएका छन्। तर एकीकरण भएका र नयाँ दर्ता भएका दलहरूले भने नयाँ चुनाव चिन्ह पाएका छन्।

एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ।

अघिल्लो निर्वाचनमा उक्त चिन्ह तत्कालीन नेकपा एमालेको थियो। नेकपा माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह प्रयोग गरेको थियो।

तर गोलाकारभित्रको हँसिया हथौडा चिन्ह यसपटक पनि मतपत्रमा छापिने छ।

एमाले र माओवादीको एकतासँग असन्तुष्ट रहेका गोपाल किराँतीको पार्टीले सोही चुनाव चिन्ह प्रयोग गर्ने भएको हो।

त्यस्तै, सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह प्रयोग गर्ने भएको छ।

उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेको हो।

फोरमले मसाल र नयाँ शक्तिले आँखा चुनाव चिन्ह लिएर यसअघि निर्वाचन लडेका थिए।

त्यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह पाएको छ।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले गत चुनाव अघि नेपाली कांग्रेससँग एकीकरण गरेको थियो। तर एकीकरणमा असन्तुष्टहरूले नेपाल फोरम लोकतान्त्रिक पार्टीको नाममा दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका छन्।

सिके राउतको जनमत पार्टीले लाउड स्पिकर चुनाव चिन्ह पाएको छ।