आज पनि दिनभर भारी बर्षा हुने,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाण्डौ – सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ। आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ। काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने छ। बुधबार गण्डकी प्रदेशको धेरैजसो भूभाग र प्रदेश नम्बर २, ३ र ५ का केही भूभागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको पानी पार्ने हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

बाढी पूर्वानुमान महाशाखाले बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।