गुण्डागर्दीमा संलग्न भएको आरोपमा ,साजन गुरुङ पक्राउ

काठमाडौं – काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले बतायो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । 

साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् । अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर दोस्रो साता उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

तर, जेलभित्रैबाट पनि उनले फिरौती असूलीको धन्दा चलाइरहेको प्रहरी अधिकृतले बताउने गरेका छन् । उनलाई बाहिर रहेका समूहका सदस्यले सहयोग गर्ने गरेको प्रहरी दाबी छ ।

बस्न्यातलाई नै सहयोग गरेको आरोपमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशलाई पनि पक्राउ गरेको थियो । समिरमानको निर्देशनमा फिरौती असुलीमा संलग्न भएको हुनसक्ने आशंकामा पवन खड्का र सुरेन नगरकोटीलाई साउन अन्तिम साता पक्राउ गरेसँगै नरेशको संलग्नता खुलेको थियो ।