चीनका विदेश मन्त्री वाङ यी आइतबार नेपाल आउने

काठमाडौं – चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी आउँदो आइतबार (भदौ २२)नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ। आइतबार र सोमबार नेपालमै रहने वाङले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्न जनाइए पनि उनको भेटघाट र छलफलको कार्यतालिका भने सार्वजनिक भइसकेको छैन।

वाङ पाकिस्तानको इस्लामावादबाट नेपाल आउने छन्। शनिबार इस्लामावादमा पाकिस्तान, अफगानिस्तान र चीनको त्रिपक्षीय सहयोगको बैठकमा हुँदैछ। परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ राजदूतावासले भने वाङको भ्रमणबारे आधिकारिक जानकारी गराएको छैन।

वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग सेप्टेम्बर ९ र १० मा दुई देशको सीमासम्बन्धी वार्ता गर्ने तय भएको थियो। भारतीय सञ्चारमाध्यमहरूले नयाँदिल्लीमा हुने भनिएको उक्त वार्ता रद्द भएको बताएका छन्।