रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान रोक

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ।

अर्का अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटी मागेको छ।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।

‘लामिछाने र कँडेलले  प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्या मुद्दाको न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण नगर्नु नगराउनु भनि यो आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ, ‘उनीहरूदुवैले औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्नेछ।’