मेरो सेयर राम्रोसँग नचल्नुमा सीडीएसले यस्तो दियो कारण, अझै समस्या हुन सक्ने

काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो सेयर सफ्टवेयरमा अझै केही दिन समस्या आउने सक्ने जानकारी गराएको छ । विगत केही दिनयता मेरो सेयर सफ्टवेयरले राम्रो सँग काम नगरेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् ।

भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि सीडीएसले नयाँ व्यवस्था गर्दैछ । लगानीकर्ताले सफ्टवेयरमार्फत नै भारित औसत लागत हिसाब गर्न सक्ने व्यवस्था मिलाउन काम भइरहेको छ ।

मेरो सेयर सफ्टवेयरमै नयाँ फिचर राखेर लाभकर गणना तथा लागत निकाल्न अहिले प्रणालीको परीक्षण भइरहेको सीडीएसले जानकारी गराएको छ । यस क्रममा अझै केही दिन मेरो सेयर सफ्टवेयर नचल्ने, ढिलासुस्ती हुने लगायतका समस्या आउन सक्नेछ । यस्ता समस्या आएमा सीडीएसमा जानकारी गराउन समेत भनिएको छ ।

नयाँ सिस्टम कार्यान्वयनमा आएसँगै ल्याप्चे प्रणाली समाप्त हुनेछ । लगानीकर्ताले निकै ठूलो राहत पाउन सक्नेछन् ।