चितवनमा निषेधित क्षेत्र घोषणा, प्रदर्शनमा रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । साउन २० गते आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीनजनालाई आज पनि अदालत उपस्थित गराउने तयारी छ ।

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउको विरोधमा निरन्तर प्रदर्शन भएपछि एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन तथा मानिसको हुलहुज्जत गर्न निषेध गरिएको प्रहरीले जनाएको छ । चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकोले सुरक्षा संवेदनशीलताको कारण  निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।